इस्वी संवत को नयाँ वर्ष २०२३ शुरू
ग्रेगोरियन क्यालेण्डर (अङ्ग्रेजी क्यालेण्डर) अनुसार संवत २०२२ को अन्त्य भै २०२३ को सुरुवात भएको छ । जनवरी १ बाट शुरू हुने ग्रेगोरियन क्यालेण्डर मा शुरुको दिन अर्थात् जनवरी १ का दिन नयाँ वर्षको रूपमा
संसारभरका धेरै देशहरूमा सार्वजनिक बिदा का साथ धुमधामले मनाउने गरिन्छ । जसमा विशेषत अङ्ग्रेजी भाषा प्रमुख भएका देशहरू समावेश हुन्छन् । ग्रेगोरियन क्यालेन्डर संसारमा सबैभन्दा धेरै प्रयोग हुने क्यालेण्डर हो ।
अङ्ग्रेजी बोल्ने देशहरूमा, नयाँ वर्षको दिन प्रायः विभिन्न प्रकारका उत्सव तथा कार्यक्रमहरु गरिन्छ । यो दिन उत्सव तथा कार्यक्रमहरूमा भाग लिने, परम्परागत नयाँ वर्षको गीतहरू गाउने, शुभकामना आदानप्रदान गर्ने, नयाँ वर्षको लागि संकल्पहरू बनाउने, परेड गर्ने, आतिशबाजी प्रदर्शन गर्ने जस्ता विविध किसिमका रमणिय गतिविधिहरू हुने गर्दछन ।
अङ्ग्रेजी भाषा बोल्ने देशहरूमा नयाँ वर्षको एउटा लोकप्रिय परम्परा भनेको स्कटिश गीत "अउल्ड ल्याङ्ग सिने" गाउनु हो जुन नयाँ वर्षको पूर्वसन्ध्यामा मध्यरातमा परम्परागत रूपमा गाइन्छ।
यी उत्सवहरूका अतिरिक्त, धेरै मानिसहरूले नयाँ वर्षको दिनलाई गत वर्षलाई समिक्षा गर्ने भविष्यका लागि योजनाहरू बनाउने अवसरका रुपमा पनि लिन्छन्। नयाँ वर्षको लागि भावी योजना तथा लक्ष्यहरू निर्माण गर्ने काम पनि यसै दिन गर्ने गर्दछन् । नेपाल मा यो दिन ढाका टोपी दिवस को रुपमा मनाइन्छ ।
ग्रेगोरियन क्यालेन्डर के हो त ?
ग्रेगोरियन क्यालेन्डर संसारमा सबैभन्दा बढी प्रयोग हुने क्यालेण्डर हो। यो एक सौर्य पात्रो हो, जसको अर्थ यो सूर्यको वरिपरि पृथ्वी ले गर्ने परिक्रमामा आधारित छ । यो क्यालेण्डर अनुसार नयाँ वर्ष जनवरी १ बाट शुरू हुन्छ । सवैभन्दा बढी प्रयोग हुने क्यालेण्डर भएता पनि यो सवैभन्दा पुरानो क्यालेण्डर चाहिँ होइन । हामी नेपालीहरुले प्रयोग गर्दै
आईरहेको क्यालेण्डर "विक्रम संवत" ग्रेगोरियन क्यालेन्डर भन्दा ५७ वर्ष अघि छ । विक्रम संवतमा जस्तो ग्रेगोरियन नयाँ वर्ष को पछि कुनै खगोलीय आधार भने नभेटिएको जानकार हरु बताउँदछन् । किनभने हामीले प्रयोग गर्दै आईरहेको संवत तिथि, बार, नक्षत्र, योग र करण आदिलाई ध्यानमा राखेर गणना गरिएको हुन्छ । विक्रम संवत अनुसार वैशाख १ गते नयाँ वर्ष हुने र यही समयबाट बोटबिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य पनि यही समयमा प्रथम राशि मेषमा गोचर गर्ने हुनाले विक्रम संवत को खगोलीय आधार उच्च भएको पाईन्छ ।
ग्रेगोरियन क्यालेन्डरमा ३६५ दिनको वर्ष हुन्छ, जसमा प्रत्येक चार वर्षमा ३६६ दिनको अधिक वर्ष (Leap Year) हुन्छ। यस्तो किन हुन्छ भने पृथ्वी ले सूर्यको परिक्रमा गर्न लाग्ने समय 365 दिन भन्दा केही लामो हुन्छ।
क्यालेन्डरलाई १२ महिनामा विभाजन गरिएको हुन्छ , प्रत्येक महिनामा ३० वा ३१ दिन हुन्छन्, फेब्रुअरी महिनामा भने मानक वर्षमा २८ दिन र अधिक वर्षमा २९ दिन हुन्छन् ।
विशेष गरी पश्चिमी संसारमा ग्रेगोरियन क्यालेन्डर लाई धार्मिक उद्देश्यका लागि पनि प्रयोग गरिन्छ, यो रोमन क्याथोलिक चर्च र अन्य धेरै ईसाई सम्प्रदायहरूले तिनीहरूको धार्मिक पात्रोको आधारको रूपमा प्रयोग गर्दछन ।
इस्वी संवत को नयाँ वर्ष २०२३ को सवैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 💐🎊🎉🙏 ।


No comments: